गोङ्गबु हत्याकाण्ड : कल्पनालाई आजीवन कारावास, छोरीलाई सफाइ

गोङ्गबु हत्याकाण्डकी कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहरा र चितवनकी ३७ वर्षीय कल्पना मुडभरीबीच प्रेमसम्बन्ध रहेको तर सम्बन्धमा उतारचढाव आएपछि बोहराको हत्या गरेको कल्पनाले अदालतसमक्ष स्वीकार गरेकी थिइन् ।

दहीमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर खुवाएपछि बेहोस बनेका बोहरालाई पछि अण्डकोषमा हम्मरले हानेर हत्या गरेकी थिइन् । त्यसपछि शव व्यवस्थापन गर्न बाथरुममा टुक्रा–टुक्रा पारेर सुटकेशमा हालेकी थिइन् ।

हत्याको करिब ७ महिनापछि नै जिल्ला अदालत काठमाडौंले कल्पनालाई जीवनभर कैदमै राख्ने फैसला सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार भीम बहादुर निरौलाले बताए । अपराधी ठहर भएकी कल्पनालाई यसअघि नै जगन्नथादेवल कारागारमा राखिएको थियो ।

प्रकाशित समय १४:५४ बजे

प्रतिक्रिया दिनुहोस्